काठमाडौं, २९ फागुन । नेकपा (एमाले) का सांसद तथा प्रभावशाली नेता सूर्य थापाले क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यसँग भेटवार्ता गरेका छन् । एमालेभित्र माओवादी धारविरुद्ध आक्रामक सुनिने नेताहरुमा पर्छन् सांसद थापा ।
उनी सामाजिक सञ्जालमा पनि सक्रिय छन् । बेलामा विभिन्न व्यक्तिहरुसँग हुने गरेका भेटवार्तालाई सञ्जालमा पोष्ट्याउने थापाले आज भने मोहन बैद्यसँगको तस्विर साझा गरेका छन् । अहिले एमाले र माओवादी केन्द्र सत्ता सहकार्यमा छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेका छन् । कांग्रेसले भने प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
प्रधानमन्त्री दाहालले भोलि ३० फागुनमा संसद्मा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री दाहालले सदनमा विश्वासको मत लिने अघिल्लो दिन एमाले सांसद थापाले प्रचण्डले पनि गुरु मानेका मोहन बैद्यसँग भेट गरेका छन् ।