काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई पूर्ण समर्थन रहेको बताएकी छन् ।
‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत छ भनि पेस गर्नुभएको प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको जानकारी गराउन चाहन्छु,’ उनले भनिन्।
उनले एकीकृत समाजवादीको भनाइलाई खण्डन गर्दै संसदमा साना दलको पनि भूमिका महत्त्वपूर्ण हुने बताइन्।
‘म भन्दा अगाडि बोल्नुभएको माननीय राजेन्द्रजीको कुरालाई गहन रूपमा सुने, बारम्बार उहाँले ‘सानो पार्टी’ ‘सानो पार्टी’ भन्दा मलाई मैले कक्षा ८ मा एउटा परीक्षा दिएको याद आयो। परीक्षा दिँदा लामा प्रश्न र छोटा प्रश्नहरू थिए। मैले छोटा प्रश्नका उत्तरहरू छाडेर लामा प्रश्नका मात्रै उत्तर दिएर फर्किएकी थिएँ। रिजल्टको दिन मेरो पास मार्क पनि आएन,’ उनले भनिन्।
नाउपामा प्रचण्ड सरकारलाई विश्वासको मत दिने की नदिनेबारेमा मतभेद रहँदै आएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ सरकारलाई समर्थ गरेर विश्वासको मत दिनुपर्ने पक्षमा छिन भने संस्थापक एवं पूर्व सांसद रेशमलाल चौधरी सरकारमा जान र विश्वासको मत दिन नहुने पक्षमा छन् ।