काठमाडौं, ३० फागुन । नेकपा (एकीकृत समाजवादी) का नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले कांग्रेस–माओवादीबीचको गठबन्धन टुट्नु राम्रो नभएको टिप्पाणी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुसँग छलफल नै नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन छाडेर एमालेसहितको सरकार बनाएको भन्दै आपत्ति जनाएका हुन् ।
नेता पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले घाँटी जोडेभने तपाईँको हालत के होला ? भन्दै उनले प्रश्न गरे ।
‘संविधानको रक्षाका लागि पार्टीभित्रको व्यक्तिवादको विरुद्धमा उत्रिएर हामी छुट्टै विद्रोह गरेको आएको शक्ति हौं । त्यो विद्रोह गरेर आफैंले बनाएको पार्टी तोडेर विष पिएर हामी तपाईँको पासमा उभिएका थियो ।’ उनले भने, ‘हामीलाई खोलाको बगरमा छोडेर हिँड्नुभयो । यो भन्दा अनैतिक के हुन्छ ? एकचोटी हाम्रो ठाउँमा उभिएर प्रधानमन्त्रीज्यूले सोच्नुस्– ओलीजी र शेरबहादुरजी घाँटी जोडे भने तपाईँको हालत के हुन्छ ?’