काठमाडौँ, ३० फागुन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद महिन्द्रराय यादवले मुलुकलाई तीव्र आर्थिक विकासमा लैजान सत्ता साझेदार दलबाट पर्याप्त सहयोग नभएपछि सत्ता समीकरण बदल्नु परेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि दलीय आधारमा जारी छलफलमा उनले सत्ता साझेदार नेपाली कांग्रेसको महासमिति बैठकमा भएका छलफलका विषयले गठबन्धनमा अविश्वास पैदा गरेको बताए ।
“कांग्रेसका कारण गठबन्धनमा अविश्वास पैदा भयो, कोशी प्रकरण तथा महासमिति बैठकमा उठेका विषयले गठबन्धनप्रति अविश्वास बढेको हो”, सांसद यादवले भने, “सरकारमा रहेर पनि कांग्रेसले प्रभावकारी समन्वय र सहकार्य गर्न सकेन ।” उनले वर्तमान गठबन्धनले मुलुकमा देखापरेका समस्या समाधान गरेर जाने विश्वास व्यक्त गरे ।
“अघिल्लो गठबन्धन अमिल्दो थियो, दुई पार्टीको वैचारिक धार मिल्दैनथ्यो । एउटा परिवर्तनकारी अर्को यथास्थितिवादी दल थियो”, सांसद यादवले भने “अहिलेको गठबन्धन वैचारिक र अग्रगामी छ । मुलुकको राष्ट्रियता एकता, सुशासन र समृद्धि, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा मधेसका मुद्दालाई सम्बोधन गर्न वर्तमान गठबन्धन हितकर छ ।” रासस