काठमाडौं, १ चैत्र । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद चन्द्र भण्डारीले प्रतिपक्षमा पुग्नेबित्तिकै कांग्रेसले संसद अवरुद्ध गर्ने भनेर छलफल थाल्नु गलत भएको टिप्पणी गरेका छन् । एक साताअघिसम्म सत्तापक्ष रहेको कांग्रेस अहिले सदनमा आक्रामक रुपमा प्रस्तुत भएको छ । कांग्रेसका सांसदहरुले सदन अवरुद्ध गर्नेगरि चेतावनी दिएको र पार्टीले पनि त्यसरी तयारी थालेकोमा सांसद भण्डारीले आक्रोश पोखेका हुन् ।
डा. भण्डारीले मुलुक समृद्ध बनाउन राजनीतिक नेतृत्वले नयाँ तरिकाबाट सोच्न आवश्यक रहेको औंल्याए । आज (बिहीबार) को प्रतिनिधिसभाको बैठकमा भाग लिएर फर्किने क्रममा सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा भण्डारीले यस्तो बताएका हुन् । उनले बहुदल ल्याएको ३४ वर्षसम्म पनि कुनै नेताले मुलुकको विकासका लागि नसोचेको भन्दै गुनासो पोखे ।
भण्डारीले भने,‘क्रस पार्टीहरुसँग पनि सरसल्लाह गरेर हामी अब नयाँ तरिकाबाट मुलुकलाई अघि बढाउने काममा जाँदैछौँ । जसले वादेवादे जायते तत्वबोध भन्ने कुरामा विश्वास गरेको छ, त्यो पार्टीले संसद् अवरुद्ध गर्नेबारे सोच्न मिल्दैन, सिद्धान्ततः सदन बन्द गर्नु गलत हो । लोकतान्त्रिक शक्तिले सदन बन्द गर्नु हुँदैन । हामीले बहुदल ल्याएको ३४ वर्ष भयो, यो समयमा कुनैपनि नेताले मुलुकको बारेमा सोचेन । चिन्ता गरेन । जबसम्म अहिलेको नेतृत्व, कर्मचारीतन्त्र र संवैधानिक व्यक्तिमा नयाँपन ल्याउन सक्दैनौँ, तबसम्म मुलुक समृद्ध हुन सक्दैन ।’ file photo