Logo

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन



काठमाडौं,२ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानविन गर्न गठित आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् ।

गृहमन्त्री लामिछानेले आज बिहान बालुवाटारमा पुगेर प्रधानमन्त्रलाई सो प्रतिवेदन बुझाएका हुन् । बिहीबार सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । हङकङबाट नेपाल भित्रिएको ६१ किलो सुन र त्यसपछि विभिन्न समयमा नेपालमा बरामद भएका सुनको बारेमा जाँचबुझ गर्न सरकारले गत असोज ५ गते पूर्व न्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको थियो ।

प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडि बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन्।



प्रतिक्रिया दिनुहोस्