काठमाडौं, ३ चैत्र । सुन तस्करी प्रकरणमा मुछिएका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि कारबाही सिफारिश भएपछि राजनीतिमा तरंग पैदा भएको छ । सरकारको नेतृत्व गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका नजिकका नेता मानिने महरा एकपछि अर्को काण्डमा मुछिन थालेपछि प्रचण्डसमेत हैरानीमा छन् ।
महराले सुन तस्करलाई लामो समयदेखि संरक्षण गरेको पाईएपछि छानबिन आयोगले महरालाई पनि कारबाहीको लागि सिफारिश गरेको छ । महरालाई भने यसअघि बयान लिएर उन्मुक्ति दिन खोजिएको भनिएको थियो । गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा सिआईबीले अनुसन्धानको क्रममा गम्भीर त्रुटि गरेको र चलखेल भएको आशंका व्यक्त गरेका छन् ।
उनले सिआईबीमा प्रहरी अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । यसअघि सिआईबी प्रमुखको जिम्मेवारीमा रहेकी एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही गरिएको छ । उनको ठाउँमा एआईजी श्यामलाल ज्ञवाली लगिएको छ । छानबिन आयोगको प्रतिवेदन प्राप्त गरेलगत्तै गृहमन्त्री लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष भेट गरेका थिए ।
र, सो प्रतिवेदन हस्तान्तरण गरेका थिए । सो क्रममा प्रधानमन्त्री दाहालले सुन तस्करी प्रकरणमा मुछिएका जस्तोसुकै हाईप्रोफाईल व्यक्ति भएपनि कारबाही गर्न निर्देशन दिएका थिए । उनले माओवादीकै ठूला नेता मुछिएपनि कारबाहीबाट ब्याक नहुन गृहमन्त्रीलाई भनेका छन् ।