काठमाडौं,४ चैत । जनता समाजवादी पार्टी नेपालकी सांसद मञ्जु शर्मा अन्सारीको निधन भएको छ । आइतबार सिभिल अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।
२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य रहेकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् । सभामुख देवराज घिमिरेले आज नै सिभिल अस्पतालमा पुगेर शोक प्रकट गरेका छन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
यसैबीच आज बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठक उनको निधनका कारण अन्यौलमा परेको छ ।