काठमाडौं,४ चैत । प्रतिनिधि सभाका सांसद मन्जु शर्मा अन्सारीको निधन भएको छ । ६० वर्षिय अन्सारीको आज काठमाडौंको मिनभवनमा रहेको सिभिल अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधिसभा सदस्य भएकी थिइन् । जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा उनी सांसद भएकी थिइन् ।
२०४६ सालको आन्दोलन देखि राजनीतिक यात्रा सुरुवात गरेकी उनी सद्भावना पार्टीमा आबद्ध भई २०४६ साल देखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज रहेकी थिइन् । उनी हाल जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् ।
जसपाबाट सांसद बनेका एकै कल्सटरका २ सांसद्को एक वर्षमा निधन भएको छ । जसपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीको मुस्लिमतर्फ तीन जना महिलाको नाम समावेश थियो ।
जसपाले निर्वाचन आयोगमा बुझाएको सूचीको पहिलो नम्बारमा शहनाज रहमान थिईन् भने दोस्रो नम्बरमा मञ्जु थिईन् ।
मन्जी र रहमान दुवैको निधन भएसँगै बन्दसूची अनुसार मुस्लिम महिला कलस्टरको तेस्रो नम्बरमा बाँकेकी २७ वर्षीय हसिना खानको नाम रहेको छ ।
अब उनै खान जसपाबाट नयाँ सांसद बन्ने सम्भावना रहेको छ । खान जसपाले बुझाएको बन्द सूचीको अन्तिम नाम हो ।