Logo

‘शहीद घोषणा गर्दै १० लाख दिँदै गरेर देश कतिञ्जेल चल्छ ?’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले शहीदको संख्यामात्र थप्ने काम गरेको भन्दै आपत्ति जनाएका छन् ।

आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै संसद्को विकास तथा पूर्वाधार समितिका सभापतिसमेत रहेका सांसद सिंहले सरकारले गत फागुन अन्तिममा २ हजार भन्दा धेरै शहीद थपेको बताउँदै शहीद थपेर राहात दिँदै जाँदा देश कंगाल बन्ने बताए ।

‘सरकारले फेरि थप २ हजार ६ सय ७४ जनालाई शहीदको सूचीमा समावेश गरेछ । १० लाख दिँदै शहीदको सूचीमा राख्दै गर्नाले देश कतिञ्जेल चल्छ सभामुख महोदय’ उनले प्रश्न गरे ‘शहीको संख्या थप्नुभन्दा तयो रकम विकास निर्माणको क्षेत्रमा खर्च गर्न म अनुरोध गर्दछु’ ।

सरकारले गत फागुन २४ गते नयाँ शहीदहरु थपेको थियो । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाएकाहरूलाई सम्मानस्वरूप गत पुस २४ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो । उक्त नामावली भने गृह मन्त्रालयले फागुन २४ मात्रै राजपत्रमा प्रकाशित गरेको हो ।

अघिल्लो वर्ष फागुन २९ गते विभिन्न आन्दोलनमा ज्यान गुमाएका र विभिन्न मितिमा सहिद घोषणा भएका आठ हजार चार सय ६७ जनाको नामावली पनि राजपत्रमा प्रकाशित गरेको थियो ।

सहिद परिवारलाई राज्यले १० लाख सहयोग उपलब्ध गराउँदै आएको छ । यसरी प्रतिपरिवार १० लाखका दरले उपलब्ध गराउँदा राज्यलाई थप दुई अर्ब ६७ करोड ४० लाख व्ययभार थपिएको छ ।



प्रतिक्रिया दिनुहोस्