Logo

सर्लाही प्रहरीमाथि गोली चलाउने भारतीय २ कुख्यात अपराधी पक्राउ



सर्लाही,६ चैत्र । नेपाली प्रहरीमाथि गोली चलाउने भारतका दुई कुख्यात अपराधी सर्लाहीको बरहथवा नगरपालिकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार सीतामढी सैयाराग्राम पञ्चायत बस्ने सन्नी कुमार सिंह र मोतीहारी गंगा पिपरा बस्ने जितेन्द्र राउत रहेका छन् ।

उनीहरु लुकेको गोप्य सुचनाको आधारमा सर्लाही प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो । सर्लाहीको बरहथवा नगरपालिका ६ स्थित डेरागरी बस्दै आएका दुबैजनालाई राति साढे ८ बजे प्रहरीले पक्राउ गरेको हो । प्रहरी पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली प्रहार गरेका थिए ।

बरहथवाबाट अपराधीलाई पक्राउगरि जिल्ला प्रहरी कार्यालय मलंगवा लैजानेक्रममा बाटोमा प्रहरी भ्यानबाट जितेन्द्र भाग्न खोजेका थिए । प्रहरीमाथि कुटपिट तथा तछाडमछाड गरि अपराधी भाग्न खाजेपछि उनीहरुलाई समात्न प्रहरीले ५ राउन्ड गोली प्रहार गरेको थियो । गोली जितेन्द्रको दायाँ-बायाँ खुट्टामा लागेको छ ।

दुबै खुट्टामा गोलि लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा सम्भव नभएपछि थप उपचारका लागि जनकपुर पठाईएको प्रहरीले बताएको छ ।

जितेन्द्रको साथबाट प्रहरीले मेडियन अमेरिका अटोमेटिक पिस्तोल १ थान त्यसमा प्रयोग हुने ९ एमएमका गोली ५ पिस र एउटा खोखा र म्यागजिन बरामद गरेको छ । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ परेका दुबैजना कुख्यात अपराधी हुन् । उनीहरूमाथि भारतमा ४ वटा हत्या, डकैती र लागुऔषध कारोवारमा मुद्दा दर्ता रहेको छ । भारतीय प्रहरीको खोजी सूचीमा रहेका दुबैजनालाई सर्लाही प्रहरीले पक्राउ गरेको हो ।

भारतमा लोकसभाको निर्वाचन नजिकिँदै जाँदा भारतका कुख्यात अपराधीहरूको वासस्थान नेपालको मधेश प्रदेश बनेको छ । मधेश प्रदेशका ८ जिल्ला भारतीय अपराधीहरूको मुख्य ठेगाना बनेको जानकारहरूको भनाई छ । केही दिन पहिला पनि रौतहटमा भारतीय अपराधीहरू हातहतियारसहित पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्