Logo

उपनिर्वाचनबारे निर्णय लिन एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै



काठमाडौं,७ चैत । इलाम क्षेत्र नम्बार-२ र बझाङ प्रदेश सभा (ख) मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल र आवश्यक निर्णय लिनका लागि सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक आह्वान गरेको छ ।

बुधबार दिउँसो २ बजे पार्टी मूख्यालय च्यासलमा बस्नेगरि बैठक आह्वान भएको हो । आजको बैठकमा समसामयीक घटनाक्रम र उपनिर्वाचनबारे छलफल हुनेछ ।

संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमाले संसदीय दलका उपनेता, पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौंमा निधन भएपछि इलाम २ रिक्त रहेको छ । सो क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ । एकीकतृ समाजवादीबाट गत आम निर्वाचनमा इलाम १ बाट हारेका सम्मानीत नेता झलनाथ खनालले इलाम २ बाट उम्मेदवार बन्ने इच्छा राखेका छन् ।

उनी पार्टीबाट एकलरुपमा नभई नेकपा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार बन्ने प्रयासमा छन् । आजको बैठकले सो बारेमा आवश्यक निर्णय लिनेछ । यता सोही क्षेत्रबाट निर्वाचत भएर निधन भएका सुवास नेम्वाङका छोरा सुहाङ भने एमालेबाटै उम्मेदवार बन्ने तयारीमा छन् ।

सो पार्टीले आगामी जेठ पहिलो साता दसौँ राष्ट्रिय महाधिवेशन गर्दै छ । महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न शीर्ष नेता सम्मिलित ‘दस्ताबेज मस्यौदा समिति’को बैठक चैत ६ गतेबाट बसिरहेको छ । १० गतेसम्म बस्ने बैठकले दस्ताबेजलाई अन्तिम रूप दिने तयारी छ । सो पार्टीले महाधिवेशनमा पेस गर्ने दस्ताबेज तयार गर्न अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको २७ सदस्यीय दस्ताबेज मस्यौदा समिति गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्