Logo

श्याम ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएकोबारे कांग्रेसले उठायो प्रश्न



काठमाडौं,७ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घुस लिनदेन र जन्ममिति प्रकरणमा उजुरी परेका नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुखको जिम्मा दिएकोबारे सदनमा प्रशन उठाएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै कांग्रेसकी सांसद रुपा विकले विवादित व्यक्तिलाई सरकारी निकायमा लगेको भन्दै प्रश्न उठाएकी हुन् ।

उनले भनिन्– ‘कुनै मुद्दा वा आरोप नलागीकन सरकारी निकायको नेतृत्वमा जान नपाइने नीति बनेको हो ? यदि होइन भने सरकारी निकायहरूमा विवादित र आरोपीहरूलाई किन जिम्मेवारी दिइँदैछ ? हालै सीआइबीका जिम्मेवारी पाएका श्याम ज्ञवाली पनि घुस लेनदेनको आरोप र प्रहरी सेवा प्रवेशमा जन्म मिति विवादित बनेको छ । आरोप र विवाद देखिएपछि छानबिन गर्ने हो कि ? छानबिन गर्ने निकायकै प्रमुख बनाउने हो ? म प्रधानमन्त्रीबाट जवाफ चाहन्छु, सीआइबी प्रमुखमाथिको आरोप र विवादको निष्पक्ष छानबिन हुन्छ कि हुँदैन ? जवाफ चाहिन्छ ।’

गत बिहीबार सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले सीआईको गम्भीर लापरबाही भएको ठहर गर्दै सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई विभागीय कारबाही गर्न सिफारिस गरेपछि सरकारले ज्ञवालीलाई सीआईबीको जिम्मा दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्