काठमाडौं,७ चैत । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनलाई खोज्दै राप्रपाले नियमापत्ति जनाएको छ । आजको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष ०८१-८२ को बजेटका प्राथमिकता र सिद्धान्तमाथिको छलफलमा सांसदहरुले बोल्नेक्रम जारी छ ।
सत्तारुढ तीन दल नेकपा एमाले, माओवादी केन्द्र र रास्वपासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बोल्ने समयमा संसद्मै रहेका अर्थमन्त्री पुन राप्रपा सांसदले बोल्नेबेला सदनबाट बाहिरिएपछि सांसदले आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभा बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले रास्वपाका सांसद शिरिर खनालले बोलेपछि राप्रपाकी सांसद विना लामालाई बोल्न समय दिएकी थिईन् । सभामुखले समय दिएपछि संसद्मा उभिएकी सांसद लामाले अर्थमन्त्रीको उपस्थितिमा मात्रै बोल्ने बताईन् ।
अर्थमन्त्री खोजेपछि मगरले भनिन् ‘माननीय सदस्यहरु अर्थमन्त्रीज्यूले अर्को प्रतिनिधि राखेर खाना खान जानु भएको छ । उहाँ आउँदै हुनुहुन्छ’ मगरले त्यति भन्दा पनि राप्रपा सांसदले चित्त बुझाएनन् । ‘सभामुख महोदय यसमा पनि अली फरक भयो । राप्रपा सदनमा आउनासाथ अर्थमन्त्री हिँड्नु भयो । यसमा पनि विभेद छ । यो विभेदकारी हो । म घोर आपत्ति जनाउन चाहान्छु । हामीलाई अर्थमन्त्री चाहियो’ । राप्रपाले अर्थमन्त्रीबिना नबोल्ने अड्डी लिएपछि मगरले ‘बोल्दै जानुहोला म मन्त्रीज्यू आउनजेल बोल्ने समय दिन्छु’ मगरले भनिन् । तर, राप्रपा सांसद लामाले बोल्न मानिनन् ।
राप्रपा सांसदले नबोल्ने भनेपछि सभामुख मगरले जसपाका सांसद प्रदीप यादवलाई बोल्न समय दिईन । त्यहिबेला अर्थमन्त्री पुन आईपुगे । मन्त्री पुन आएपछि राप्रपा सांसद लामाले बोल्न सुरु गरिन् ।