Logo

आगलागीमा परी घाइते भएका बाबुछोरीको मृत्यु



मान्म (कालीकोट), ८ चैत । कालीकोटको खाडाँचक्र नगरपालिका–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा घाइते भएका ५० वर्षीय नन्दराम चौलागाईँको बुधबार दिउँसो मृत्यु भएको छ ।

यही चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा घाइते भएका चौलागाईँको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले मृत्यु भएको हो ।

शुक्रबार घरमुनिको वनमा गोठालो गएका बुवालाई दिउँसोको खाजा रोटी पु¥याउन गएकी १२ वर्षीया छोरी हेमन्ती पनि आगोमा जलेर घाइते भएका थिए । घाइते बाबुछोरीलाई शनिबार बेलुकी हेलिकप्टरबाट थप उपचारका लागि सुर्खेत लगिएको थियो ।

छोरी हेमन्तीको सोमबार उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश अस्पताल स्रोतले जनाएको छ । नन्दरामलाई चार दिनदेखि सघन उपचार कक्ष (आइसीयू) मा राखेर उपचार गरिरहेकामा बुधबार दिउँसो मृत्यु भएको अस्पतालका डा केएन पौडेलले जानकारी दिए ।

चौलागाईँको आज सुर्खेतस्थित भेरी नदीमा दाहसंस्कार गरिने आफन्त हीरामणि चौलागाईँले बताए । आगलागीमा चौलागाईँका ४५ वटा बाख्रा पनि जलेर मरेका थिए । रासस



प्रतिक्रिया दिनुहोस्