काठमाडौं, ८ चैत । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीति र नागरिकका अपेक्षाप्रति जिम्मेवार रहन नगर प्रहरीलाई निर्देशन दिएका छन् । बागदरबारस्थित प्रहरी बल, कार्यालयको निरीक्षण तथा नगर प्रहरीले सम्पादन गर्ने कामका विषयमा जानकारी लिएपछि उनले नगर प्रहरी बलले आर्जन गरेको जनविश्वाशलाई आत्मीयतासँग जोड्दै लैजान निर्देशन दिएका हुन् । त्यस क्रममा उनले पोशाकको गरिमा बचाउन निष्पक्षतामा संवेदनशील हुन आग्रह गरे ।
‘तपाईँहरुले धेरै काम गर्नु भएको छ । राजधानी सहरको व्यवस्थापनमा यसलाई बढाउनु र दिगो बनाउनु पर्ने छ,’– उनले भने, ‘नेतृत्वका नीति र नागरिकका अपेक्षालाई पूरा गराउन नगर प्रहरीको गहन जिम्मेवारी छ । यसलाई पूरा गराउन जनशक्ति थप गर्नु पर्ने अवस्था छ । आवश्यकताका आधारमा स्रोत, साधन तथा प्रविधिजन्य उपकरण उपलब्ध गराउनु पर्नेछ । यसका लागि म प्रतिवद्ध छु । उपलब्ध जनशक्तिको परिचालनबाट प्राप्त भएको उपलब्धिलाई बढाउँदै, संस्थागत गर्दै, क्षमता विकास गर्दै लैजाऔँ ।’
प्रमुख प्रशासकीय अधिकृत परियारको निर्देशनपछि प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले संगठनको गतिविधिबारे जानकारी गराएका थिए । ‘प्रहरी बलले महानगरपालिकालाई ४ क्षेत्रमा विभाजन गरेको छ । यीमध्ये पूर्व र मध्य क्षेत्रको व्यवस्थापन गर्न नगर प्रहरी उपरीक्षकको नेतृत्वमा र पश्चिम र उत्तर क्षेत्रको व्यवस्थापन गर्न नायव प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन हुने गरेको जानकारी छ ।’ पाण्डेले भने, ‘वातावरण व्यवस्थापन, जुद्ध बारुण यन्त्र कार्यालय सञ्चालन, अनधिकृत सवारी पार्किङ् व्यवस्थापन, तार व्यवस्थापनलगायतका काममा नगर प्रहरी परिचालन गर्ने गरिएको छ ।’
निरीक्षणका क्रममा नियन्त्रण कक्ष सञ्चालन, खाना खाने मेस, पकाउने ठाउँ, बस्ने तथा सुत्ने कक्षको निरीक्षण तथा सवारी साधनहरुको अवस्था र परिचालन हेरिएको थियो ।