काठमाडौं, ८ चैत । काभ्रेपलाञ्चोक जिल्ला मण्डनदेउपुर नगरपालिका-१० निवासी कामसिंह तामाङले आफ्नो छोराको शंकास्पद मृत्युमा प्रहरी प्रशासनले निश्पक्ष छानविन नगरेको आरोप लगाएका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनले रसुवाको सान्जेन हाइड्रोपावर कम्पनीमा काम गर्न गएका २७ वर्षीय छोरा आयुष तामाङको शंकास्पद मृत्यु भएको उनले बताए ।
उक्त घटनामा आफूलाई प्रहरी प्रशासनले समेत छानविनमा सहयोग नगरेको उनको गुनासो छ । गत माघ २६ गते उक्त घटना भएको भएपनि हालसम्म घट्ना कसरी भएको हो ? भन्ने सत्य तथ्य जानकारी आफूहरुले नपाएको उनले बताए ।
मृतक आयुषको शरीरमा चोटपटक रहेको र उनको हत्या भएको हुनसक्ने उनको भनाइ छ । उक्त घट्नामा सुरुमा जिल्ला प्रहरी कार्यालय रसुवाले जाहेरी लिन नमानेको र आफूहरुले पटक–पटक दवाब दिएपछि मात्रै जाहेरी लिएको उनले बताए । प्रहरीले जाहेरी लिएपनि सनुसन्धान के भइरहेको छ भन्ने आफूहरुलाई कुनै जानकारी नै नगराएको उनले बताए ।
उक्त घट्नामा आफूहरुलाई फुर्गेउली शेर्पा, प्रताप बुढाथोकी र निमपासाङ शेर्पामाथि आशंका रहेकाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएको उनले बताए । उक्त घटनाको निश्पक्ष रुपमा सत्यतथ्य छानविन हुनुपर्ने उनको माग छ ।