Logo

सुन तस्करी प्रकरण : पक्राउ परेका महराको बयान सकियो, हाजिरी जमानामा छोड्न आग्रह



काठमाडौं, ९ चैत्र । सिआईबीले सुन तस्करी प्रकरणमा पक्राउ गरेको माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । कपिलवस्तुबाट पक्राउ परेका महराको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पनि बयान सकिएको छ । यसअघि उनलाई सिआईबीले बयान लिएको थियो ।

पक्राउ परेकै दिन महराको स्वास्थ्य अवस्था देखाउँदै अदालतले उनलाई अस्पतालमा राख्न अनुमति दिएको थियो । महराका कानून व्यवसायीहरुले समेत महरालाई हाजिरी जमानामा छाड्न आग्रह गरेको छ । महरालाई हाजिरी जमानामा छाड्ने वा थुनामै राख्ने भन्नेबारे अदालतले आज टुँगो लगाउने भएको छ ।

महराको लागि यसअघि थपिएको चार दिनको म्याद हिजै गुज्रिएको छ । सुन तस्करी प्रकरणमा महराका छोरा राहुलपनि थुनामा नै छन् । माओवादी पार्टीले भने महरा पक्राउ परेलगत्तै पदाधिकारी बैठक राखेर राजीनामा दिन सुझाएको थियो ।

तर, महराले अध्यक्ष प्रचण्डसँग समय मागेको बुझिएको छ । माओवादीभित्र महरालाई जिम्मेवारीबाट हटाउनुपर्ने आवाज उठेको छ । महरा पछिल्लो समय विभिन्न काण्डमा मुछिँदै आएका छन् । यसअघि सभामुखको जिम्मेवारीमा हुँदा यौन काण्डमा मुछिएका थिए ।



प्रतिक्रिया दिनुहोस्