काठमाडौं, ९ चैत । पोखरास्थित सूर्यदर्शन सहकारी पीडित सहकारी संघर्ष समितिका संयोजक किरण श्रेष्ठले सरकारले जसरी भएपनि जिबी राईलाई पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जिबी राईले उक्त सहकारीबाट एक सय ४० करोड रुपैयाँ निक्षपकर्ताहरुको बचत हिनामिना गरेको बताए । उनले सरकारले जिबी राईलाई पक्राउ गरेर ल्याएर सूर्यदर्शनको समस्या समाधान गर्नुपर्ने बताए ।
‘हामीलाई जिबी राई चाहियो भन्ने छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष जिबी राई नै हो । जति पनि पैसा सूर्यदर्शन सहकारीबाट हिनामिना भएको छ, उहाँले नै गर्नुभएको छ । एक सय ४० करोड रुपैयाँ निक्षपकर्ताहरुको बचत फिर्ता गर्नुपर्ने छ । जिबी राई समातेर ल्याएर पोखराको सूर्यदर्शन सहकारीको समस्या समाधान गर्नुपर्यो भन्ने हाम्रो माग हो,’– उनले भने ।
सूर्यदर्शन सहकारीमा समस्या आएसँगै अहिलेसम्म तीन वटा सरकार बदलिएको र रवि लामिछाने दुई पटक गृहमन्त्री भइसक्दा पनि आफूहरुले न्याय नपाएको उनको गुनासो छ । उनले सरकारले सुशासनको कुरा गरेरमात्रै नहुने र जनताले न्याय पाएको अनुभूति गर्न पाउनुपर्ने बताए ।
‘हाम्रो सहकारीमा समस्या आएयता तीनवटा सरकार बदलियो । तीनवटै सरकारले भनेको हो हामी सुशासन दिन्छौं भनेर । खै हामीले पायौं त ? न्याय पाएको अनुभूति गर्नुपर्यो नि त जनताले,’– उनले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरुलाई साथ दिन्छौं भनेर भनेको भएपनि संसद्को रोस्टममा उभिएर पीडितको विरुद्धमा बोलेको उनले बताए । आफूहरुले गृहमन्त्री पदले उक्त सहकारीको पैसा खायो, मास्यो नभनेर व्यक्ति विशेषलाई भनेको उनले बताए । सहकारीका बचतकर्ताको रमक हिनामिनामा जसको संलग्ता छ, उसलाई कारबाही गरिनुपर्ने उनले बताए ।
साथै, सूर्यदर्शन सहकारी समस्या छानविनका लागि पोखरा महानगरपालिकाले तयार पारेको प्रतिवेदनमा गृहमन्त्री रवि लामिछानेले एक करोड रुपैयाँ लिएको देखिएको उनले बताए । ‘पोखरा महानगरपालिकाले बनाएको प्रतिवेदनअनुसार एक करोड रुपैयाँ नाममा गएको भन्ने देखिन्छ,’– उनले भने ।