काठमाडौं, ९ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने स्पष्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाललाई सिंहदरबारमा भेटेर बाहिरिने क्रममा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा उनले संक्षिप्त जवाफ दिँदै एमाले मोर्चामा सहभागी नहुने स्पष्ट पारे ।
आज विहानमात्रै समाजवादी मोर्चाको बैठक बसेको थियो । सो बैठकले एमालेलाई पनि मोर्चामा सहभागी गराउन प्रधानमन्त्री दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिएको छ ।
ओलीले आफू र प्रधानमन्त्री दाहालबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रतिक्रिया दिएका छन् । दुई नेताबीच संक्रमणकालिन न्याय छिटो टुँगो लगाउने विषयमा गम्भीर विमर्श भएको बुझिएको छ । साथै, सदनमा कांग्रेसको अवरोध कायम रहेकोले त्यसलाई सुचारु गर्नेबारे दुई नेताबीच कुराकानी भएको बुझिएको छ । file photo