कञ्चनपुर, ९ चैत । जातीयरुपमा गरिने विभेद हटन नसकेकामा शुक्लाफाँटा नगरपालिका–१० झलारीकी अनिता नेपाली निकै चिन्तित छन् । तीन महिनादेखि उनले दलित समुदायको न्यायका लागि थालिएको रुपान्तरण अभियानको नेतृत्व गर्दै आएका छन् । पुरातनवादी सोचका कारण समाजमा परिवर्तन आउन नसकेको उनको भनाइ छ ।
“चिन्तनमा परिवर्तन आउन आवश्यक छ”, उनले भने, “जबसम्म चिन्तनमा परिवर्तन आउँदैन, मानव समाजको कलङ्कका रुपमा रहेको जातीय विभेद र छुवाछूतको भावना हट्न सक्दैन ।” त्यसका लागि जागरण ल्याउनुपर्ने उनले बताए ।
“दलित समुदायका व्यक्तिले मन्दिर बनाउँछन्, मन्दिरमा राखेर पूजा गर्ने मूर्ति निर्माण गर्छन, त्यही मन्दिरमा पूजाका लागि प्रवेश पाउँदैनन्”, उनले भने, “त्यतिमात्रै होइन दलित समुदायले सिउने कपडा, जुत्ता लगाउछन्, मन्दिरमा भजनकीर्तन गर्दा बजाइने वाद्ययन्त्र बनाउँछन्, मन्दिरमा बजाइन्छ, मन्दिरमा चढाइने घण्टलगायतका अन्य बाजा दलितले नै बनाउछन् तर पनि दलितलाई अर्कै दर्जाको व्यक्तिका रुपमा चित्रण गरी विभेद गरिन्छ ।”
सार्वजनिकस्थल र सहरी क्षेत्रमा जातीयरुपमा गरिने विभेदका घटनामा कमी आए पनि ग्रामीण क्षेत्रमा पुरातन सोच हाबी हुँदा छुवाछूतको भावना अझै पनि विद्यमान रहेको उनले उल्लेख गरे । दलित समुदायका व्यक्तिलाई छोएमा छोइछिटो हाल्ने, घरको पानीको धारा छुन नदिनेलगायत गतिविधि हुँदै आएको दलित अधिकारकर्मी रामबहादुर चुनाराले बताए ।
“दलित समुदायका व्यक्तिले उत्पादन गरेको दूध डेरीमा बिक्री गर्न लैजाँदा खरिद नै गरिँदैन”, उनले भने, “अनेकौँ बहाना गरी फर्काउने गरिन्छ, यो पनि विभेद नै नै हो ।” संस्कृति र सम्पत्तिका आधारमा जाती रुपमा विभेद हुने गरेको उनले बताए । जबसम्म दलित समुदाय आर्थिकरुपमा सम्पन्न हुन सक्दैन तबसम्म विभेदको सामना गरिरहनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।
समतामूलक सामाज निर्माणका लागि दलित आन्दोलनलाई उचाइमा पु¥याउन अगुवा अगाडि बढ्नुपर्ने आजको आवश्यक रहेको उनी बताउँछन् । लोकगायिका डिक्रादेवी वादी दलित समुदायभित्र पनि विभेद रहेको बताउँछन् । वादी समुदायलाई दलित समुदायभित्रै तल्लोस्तरका रुपमा हेरिने गरेको चर्चा गर्दै उनले पानी नचल्ने गरेको बताए। “आफैँभित्रका विभेद पहिला हटाऔँ”, उनले भने, “त्यसपछि समाजमा विद्यमान विभेद हटाउनका लागि लागौँ ।”
दलित समुदायको अधिकारका लागि लामो समयदेखि वकालत गर्दै आएका वेदकोट नगरपालिका राजुराम सार्की हिन्दू धार्मिक ग्रन्थमा जातीयरुपमा विभेद गर्न नहुने कुरा उल्लेख गरिएको बताउँछन् ।
जातीय विभेद मानवताविरुद्धको कलङ्कका रुपमा रहेकाले यसलाई जरैबाट उखेलेर फाल्नका लागि समाजको अगुवाई गर्ने व्यक्तिहरुले जनचेतनाको पक्षलाई सशक्तरुपमा अगाडि बढाउनुपर्ने उनी बताउँछन् ।
राजनीतिज्ञ गणेश विक समाजमा विद्यमान रहेका देउकी, झुमा र सतिलगायतका प्रथाको अन्त्य भए पनि दलित समुदायमाथिको छुवाछूतको प्रथा हटान नसक्नु चिन्ताको विषय भएको बताउँछन् ।
संविधानलाई अक्षरशः कार्यान्वयनमा ल्याउन सके जातीय विभेद हट्दै जाने उनको बुझाइ छ । “समाजमा सम्मानित तरिकाले बाँच्नका लागि शिक्षा आवश्यक छ”, उनले भने, “शिक्षामा दलित समुदायको पहुँच अभिवृद्धि गरिए जातीय विभेद हटाउन मद्दत पुग्छ ।”
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य गोविन्द विक दलित आन्दोलनकै प्रभावले संविधानमा दलित समुदायका हकअधिकारको ग्यारेन्टी गरिएको बताउँछन् । “दलित समुदायभित्रै विभेद नभई बाहुनभित्र पनि विभेद छ”, उनले भने, “घिउ खाने र घिउ पोल्ने बाहुनबीच मेल छैन, एकअर्काबीच विवाहवारी चल्दैन, भात पनि चल्दैन, त्यो पनि विभेद नै हो ।”
मनोवादी सोच संस्कृति र जातीय व्यवस्थाका लागि गरिने राजनीति छँदासम्म विभेद कायम रहने उनले बताए । जातका रुपमा गरिने विभेद समाजका लागि अभिषापका रुपमा रहेको धारणा उनी व्यक्त गर्छन् ।
“संविधानमै जातीयरुपमा विभेद गरिनु हुँदैन भनेको छ”, राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले भने, “विभेद र छुवाछूत गरे कानुनीरुपमा दण्डीत गर्ने प्रावधान छ, त्यही कुरा जातीय विभेद कसुर सजाय ऐन २०६८ मा पनि उल्लेख छ, सो कानुन व्यवहारिकरुपमा कार्यान्वयन नहुँदा जातीय विभेदका घटनाले प्रश्रय पाउँदै आएका छन् ।”
“दलित र गैरदलित समुदायका युवायुवतीले गर्ने अन्तरजातीय विवाह स्वीकार नहुने अवस्था छ”, दलित अगुवा ईश्वर सुनारले भने, “अन्तरजातीय विवाह गरेकै कारणले दलित समुदायले ज्यान गुमाउनुपर्ने अवस्था छ ।” जातीय विभेद कसुर सजाय ऐन, २०६८ जारी भएयता जातीय विभेदकै कारण २० जना बढी दलित समुदायका व्यक्तिले ज्याउन गुमाइसकेको उनका भनाइ छ ।
संविधानमा दलित समुदायका लागि आवास, भूमि, रोजगारीको ग्यारेन्टी गरिएको छ त्यसलाई उपलब्धिका रुपमा हेरिनुपर्ने उनले बताए । दलित अधिकारलाई मौलिक हकका रुपमा राख्नु ठूलो उपलब्धि भएको उनले उल्लेख गरे । रासस