Logo

रविजी राज गर्न सिपालु हुनुहुन्छ, तर नीतिको न पनि थाहा छैनः जय साह



काठमाडौं, १० चैत्र । नेपाललाई विश्व गुरू बनाउने अभियानमा रहेका जय साहले दाईजो प्रथा हटाउन र भ्रष्टाचार अन्त्य गर्न स्मार्ट करेन्सीको पाईलट प्रोजेक्टको लागि सरकारसमक्ष सहयोगको अपेक्षा राखेका छन् । विगत डेढ दशकदेखि अमेरिकामा बस्दै आएका साहले यसअघि कल्किष्ट मेनिफेस्टोसमेत सार्वजनिक गरिसकेका छन् ।

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै साहले देश विकासका लागि सबैभन्दा पहिला भ्रष्टाचारमुक्त हुन आवश्यक रहेको बताए । उनले यसका लागि राष्ट्रपतीय शासन प्रणाली लागु गर्नुपर्ने धारणा राखेका । राष्ट्रपति सेरोमोनियल भएर बन नहुने र पूरै पावर राष्ट्रपतिमा दिनुपर्ने उनले बताए ।

साथै, धेरै दलहरु भएर पनि देशले समृद्धिको यात्रा तय गर्न नसक्ने उनको जिकिर छ । साहले नेपालमा दुई दलमात्र हुनुपर्ने र ती दलमा पनि अर्थशास्त्री, एमबिए र ईन्जिनियर गरी तीन विद्याका प्रखर व्यक्तित्लाई मात्रै दलमा स्थान दिइनुपर्ने बताए ।

साहले ०७९ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट काठमाडौं महानगरमा बालेन शाह र धरान उपमहानगरमा हर्क साम्पाङले जितेको उल्लेख गर्दै भने,‘पढेलेखेको युवालाई मात्रै पार्टीमा प्रवेश दिईनुपर्छ । म तपाईंहरुलाई एउटा उदाहरण दिन्छु है–स्वतन्त्रबाट बालेनले पनि जित्नुभयो, अनि हर्क साम्पाङले पनि जित्नुभयो । दुई जनामा कत्तिको फरक छ रु बालेन एउटा ईन्जिनियर हो । उहाँसँग महानगरपालिकालाई कसरी बनाउने भन्ने भिजन छ । हर्कजीलाई मेरो सम्मान नै छ । तर, उहाँ इन्जिनियर होईन ।’

साहले गृहमन्त्री रवि लामिछानेसँग पनि देश बनाउने भिजन नभएको टिप्पणी गरे । उनले भने,‘रवि लामिछानेलाई देशको माया गर्नुहुन्छ, उहाँले देशलाई यो गर्छु र त्यो गर्छु भन्नुहुन्छ, तर उहाँले केही गर्न सक्नुहुन्न । एउटा रिक्सा चलाउने मान्छेलाई हस्पिटलको डाईरेक्टर बनाईदियो भने चलाउन सक्छ त ? रविजी राज गर्न सिपालु हुनुहुन्छ, तर नीतिको न पनि आउँदैन् । नीति बनाउनु भनेको इकोनोमिक पोलिसी बनाउनु हो । तर, उहाँलाई यसको ए, बि, सि, डि पनि आउँदैन् । देश त इकोनोमिक पोलिसीबाट चल्ने हो ।’ साहले नेपाल असफल हुनुको कारण आठ कक्षा पास, १० कक्षा पास र १२ कक्षा पास गरेकाहरुले देश चलाउनु भएको दाबी गरे । उनले भने,‘देश चलाउनको लागि अर्थशास्त्रीको टिम नै छैन् । त्यसैले देशमा राष्ट्रपतीय शासन नै चाहिन्छ ।’

आफूहरुको योजना, नीति तथा कार्यक्रमलाई लागु हुन नदिनको लागि सरकारले नै भूमिका खेलेको भन्दै साहले भविष्यमा आफूहरुको सरकार निर्माण भए संविधान संशोधन गरेर अहिले गलत गर्ने नेताहरुको लागि क्यापिटल पनिसमेन्टको व्यवस्था गर्ने महत्वकांक्षी योजना पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्