काठमाडौं, चैत १२ । कान्ति बाल अस्पातालले उपचार नगरी फर्काएकी बागलुङ निसीखोलाकी सात वर्षीया बालिका सेन्जल शाहीको मृत्यु भएको छ । उनको चाबहिलस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।
गएको मंगलबार राति पौने १२ बजे कान्ति बाल अस्पतालको इमर्जेन्सीमा पु¥याइएकी बालिकालाई कान्तिले भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने र तत्काल अस्पतालमा भेन्टिलेटर खाली नभएको भन्दै भर्ना नगरी फिर्ता पठाएको थियो ।
गम्भीर अवस्थाकी बालिकालाई कान्तिका चिकित्सकले फिर्ता पठाउँदा उनका अभिभावकले बालिकाको अवस्था गम्भीर भइसकेको भन्दै आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्न हारगुहार गरेका थिए । तर, अभिभावकको हारगुहारलाई बेवास्ता गर्दै त्यहाँका चिकित्सकले बालिकालाई बाहिर लैजान भन्दै भर्ना नगरी फिर्ता पठाएका थिए ।
कान्तिमा १ घण्टा अक्सिजनबिना होल्ड भएर फर्काइँदा बालिकाको अवस्था अझ गम्भीर बनेको बालिकाको उपचारमा सरोकार राख्दै आएका राजु सुवेदीले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । सरकारी अस्पतालले फर्काइदिएपछि बाध्यताले निजी अस्पतालमा उपचार गर्नुपर्दा बालिकाका अभिभावकले थप ८ लाख ऋणसमेत बोक्नु पर्ने अवस्था सिर्जना भएको सुवेदीको भनाई छ ।
शाहीको किड्नीमा समस्या आएर चैत ६ गते राति ११ बजे बुटवलबाट काठमाडौ ल्याइएको थियो । उनलाई किड्नीको उपचारको लागी विगत १६ दिन अगाडि बुटवलको आम्दा अस्पतालमा उपचार भइरहेको थियो । उक्त अस्पतालम उपचार हुन नसकेपछि उनलाई उक्त अस्पतालले काठमाडौको कान्ति बाल अस्पतालमा रिफर गरेको थियो ।
काठमाडौं ल्याउँदा उनलाई बाटोमा स्वास प्रस्वासमा समस्या आएकाले उनको अवस्था नाजुक थियो । यता कान्तिले बालिकालाई भर्ना नगरी फिर्ता गरेको घटनाको विरोध भएपछि स्वास्थ्य मन्त्रालयले अस्पतालले बिरामीलाई चेकजाँच नगरी फिर्ता पठाउन नमिल्ने बताउँदै उक्त घटनाको छानबिन हुने बताएको छ ।