Logo

नाउपाका दुईजना विना विभागीय मन्त्रीको रातारात तोकियो जिम्मेवारी



काठमाडौं, चैत १५ । सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का दुईजना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले यसअघि विना विभागीयमन्त्री बनाएका दुई जनालाई बधुबार राति जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सबै मन्त्रीको उपस्थितिमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवार तोकिएको छ । स्रोतका अनुसार बुधबार राती नै पत्र बुझिसकेका दुबै जनाले आज कार्यभार सम्हाल्ने तयारी गरेका छन् । यसअघि मन्त्री नियुक्त गरेपनि जिम्मेवारी नतोक्दा उनीहरुले राजीनामा दिने चेतावनी दिएका थिए ।

सुदूरपश्चिममा नाउपाका ७ सांसद छन् । तीमध्य पाँचजना मन्त्री नियुक्त भएका छन् । अहिले कांग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको कांग्रेसबाट मुख्यमन्त्रीसहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन् । नाउपामा अहिले कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा विवाद छ । माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि नाउपाले साथ दिदा समेत सरकार जोगाउन दुई सांसदको अभाव छ ।



प्रतिक्रिया दिनुहोस्