काठमाडौं, १७ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले जित्ने दाबी गरेका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका उम्मेदवार राई सशक्त र इनर्जी भएको युवा भएकाले पनि जित निश्चित रहेको बताएका हुन् ।
‘जीतबहादुर राई अत्यन्त सशक्त युवा हो । लडाकु युवा हो, इनर्जी भएको युवा हो । उहाँलाई हामीले उम्मेदवार बनाएका छौं । २ नम्बर क्षेत्रका जनताले जीतबहादुर राईलाई विजयी गराउने छन् भन्ने मेरो विश्वास छ,’– उनले भने ।
अहिलेको सत्ता समीकरणमा रहेका दलहरुबीच एकआपसमा विश्वासको वातावरण नबनेको उनको भनाइ छ । जसका कारण अहिले आ–आफ्ना पार्टीका उम्मेदवार लिएर चुनावी मैदानमा उत्रिने अवस्था आएको बताए ।
सत्तारुढ कम्युनिष्ट घटकहरुबीच आपसी समझदारी बन्न नसक्दा आफू इलाम–२ मा उम्मेदवार नबनेको खनालले बताए । खनाल वामपन्थीहरुको साझा उम्मेदवारको रुपमा इलाम–२ उपनिर्वाचनमा सहभागी हुन चाहन्थे । तर, नेकपा (एमाले) ले उक्त क्षेत्रमा सुहाङ नेम्बाङलाई उम्मेदवार बनाइसकेको छ । माओवादीले पनि आफ्नै उम्मेदवार उठाउने तयारी गरेको छ ।