काठमाडौं,१७ चैत । प्रतिनिधि सभामा देखिएको गतिरोध अत्य गर्न सभामुख देवराज घिमिरेले आज बोलाएको दलका प्रमुख सचेतक र सचेतकहरुको छलफल निष्कर्षवीहिन बनेको छ । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा प्रमुख ६ दलका सचेतकहरुलाइ छलफलका लागि बोलाएका थिए ।
सभामुखसँगको छलफलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति बनाउनुपर्ने अडानबाट नेपाली कांग्रेस पछि नहट्ने अडान राखेपछि बैठक यसै सकिएको हो । सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको दाबी गर्दै कांग्रेसले निरन्तर सदन अवरुद्ध गर्दै आएको छ ।
यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । उनले भनिन्–‘यसबारेमा कांग्रेसले कुन पोजिसन लिने, सदनको काम कसरी अगाडि बढाउने, संसदीय छानबिन समितिको विषयमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ ।’
यता सत्तारुढ दल नेकपा एमालेले भने गृहमन्त्री आफैले सदनमा जवाफ दिने बताईरहँदा कांग्रेसले सदन अवरुद्ध गर्नु गैरराजनीतिक कदम भएको बताएका छन् । सभामुखसँगको छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकाकी गर्दै एमाले प्रमुख सचेतक महेश बर्तोलाले छानबिन समिति आवश्यक नरहेको जिकिर गरे ।
उनले भने, ‘गृहमन्त्रीको बिषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। उहाँहरुले उठाएको बिषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ। त्यसमा उहाँहरुले सहजिकरण गर्नुपर्छ। यति धैर्यता राख्नुपर्छ। संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा माग गरिएको भन्ने आशंका छ।’