काठमाडौं, १७ फागुन । रिपोर्टर्स नेपाल डटकमकर्मी मोहन बुढाक्षेत्री सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रिपोर्टर्स क्लब नेपालका सभापति ऋषिराज धमलाले संयुक्त रुपमा पत्रकार क्षेत्रीलाई सम्मान गरेका हुन् ।
‘नेपाली पत्रकारिता क्षेत्रमा अनवरत रूपमा क्रियाशिल रहँदै देश र जनतालाई सुसूचित गराउँदै समग्र पत्रकारिताको विकास र सम्बद्र्धनमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको तपाईं सम्मानित व्यक्तित्व हुनुहुन्छ । अनलाईन सञ्चारमाध्यमका विविध विधामा सक्रिय रहँदै यसको विकास र विस्तारमा तपाईंले महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । तपाईंले पु¥याउनु भएको योगदान प्रशंसनीय छ । तपाईंको यो अतुलनीय योगदानको उच्च कदर स्वरूप रिपोर्टर्स क्लब नेपाल तपाईं श्री मोहन बुढाक्षेत्रीज्यूलाई २६औं बार्षिकोत्सव–२०८० को अवसरमा विशेष सम्मानद्वारा अभिनन्दन गर्दछ,’– सम्मानपत्रमा भनिएको छ ।
क्षेत्रीले २०६९ सालदेखि पत्रकारिता यात्रा सुरु गरेका थिए । रामेछापको मन्थलीबाट प्रकाशन हुने पुष्पवृष्टि साप्तहिकबाट पत्रकारिता यात्रा प्रारम्भ गरेका क्षेत्रीसँग रामेछापकै रेडियो तिफदी हुँदै विभिन्न अनलाइन मिडियामा काम गरेको अनुभव छ । विगत डेढ वर्षदेखि उनी रिपोर्टर्स नेपालमा कार्यरत छन् ।
शिक्षाशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक तहसम्मको अध्ययन गरेका क्षेत्री प्रायः संसदीय मामिला, सुशासन र न्याय क्षेत्रमा कलम चलाउँछन् ।
रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानन्यायधीस हरिकृष्ण कार्की, नेपाल सरकारका मन्त्रीहरु, सांसदहरु, सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु, नागरिक अगुवासहित विविध क्षेत्रका विशिष्ट ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।