बाँके, चैत २० । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान्-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार सोमबार दिउँसो घरमा कोही नभएको बेला सो घटना भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खजुरा–३ बि गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरीको धारिलो हतियारले घाँटी रेटेर घाइते अवस्थामा भेटिएका हुन् ।
गम्भीर अवस्थामा रहेका दुबै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्याएको थियो । उनिहरुको अवस्था गम्भीर रहेकाले भेरी अस्पतालले दुबै जनालाई नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरेको भेरी अस्पतालले जनाएको छ ।
उनिहरुको उपचार नेपालगञ्ज मेडिकल कलेजमा भइरहेको र अवस्था गम्भीर रहेको छ । दुबैजनाले एक अर्काको घाँटी रेटेका हुन् कि कसैले घाँटी रेटेर हत्या गर्न खोजेको हो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । आईतबार मात्र नेपालगञ्ज–२१ मा घाँटी रेटिएर फालिएको अवस्थामा युवकको शव फला परेको थियो ।