काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सरकार गठबन्धन दलबीच सहमति कायम रहँदासम्म अगाडि जाने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गठबन्धनमा सहमत हुन नसकिएको दिन सरकार ढल्ने बताएका हुन् ।
‘गठबन्धन र सरकारको सन्दर्भमा सहमत हुँदासम्म सरकार रहने कुरा हो । गठबन्धनमा सहमत हुन सकिएन भने सरकार नरहन पनि सक्छ ।’ उनले भने, ‘विचार, नीतिको आधारमा अधिकतम् रुपले सहमति जुटाउन कोशिस गर्ने हो । ग्यारेन्टी भनेको दुनियाँमा केही पनि हुँदैन । आफ्नै त ग्यारेन्टी हुँदैन । यो त सापेक्षित रुपले हेर्ने कुरा हो ।’
अहिले तुलनात्मक रुपमा विचार, नीति, राष्ट्रियता, व्यवस्थाको रक्षा गर्ने र सुशासन कायम राख्ने सन्दर्भमा दलबीच सहमति भएको उनले बताए । उनले उक्त सहमति कायम रहँदासम्म यो सरकार अगाडि बढ्ने बताए । साथै, ‘माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिको प्रधानमन्त्री को हो ?’ भन्ने प्रश्नमा उनले यसबारेमा खुल्न चाहेनन् । उनले सांकेतिक रुपमा प्रचण्डनै पूरै अवधि प्रधानमन्त्री बन्ने बताए ।