काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीले आगामी चैत २३ र २४ गते बैठक बसेर पार्टी शुद्धीकरण गर्ने बताएका छन् । रेशम र पार्टी अध्यक्ष रञ्जिता चौधरीबीचको विवाद उत्कर्षमा पुगेको छ ।
रेशमनिकट महासचिव गंगाराम चौधरीले आगामी २३ र २४ गते बैठकको सूचना निकालेका थिए । पार्टी महासचिवले सूचना निकालेको भोलिपल्ट अध्यक्ष रञ्जिता चौधरीले अर्को सूचना जारी गर्दै उक्त बैठक नाउपाको आधिकारिक बैठक नभएको बताईन् ।
रञ्जिता र रेशमबीच टकाराव चलिरहेको बेला रेशमले २३ र २४ गते बैठक बस्ने र पार्टीको शुद्धीकरण गर्ने चेतावनी दिएका छन् । ‘रेशम चौधरीले बोलाएको नागरिक उन्मुक्ति पार्टीको बैठक अनाधिकृत भन्ने साथीहरू आधिकारिक हुन् कि अनाधिकृत आफैं बुझ्नुहोला । २३ र २४ गते पार्टीको बैठक बस्छ र पार्टीको शुद्धीकरण हुन्छ,’– रेशमले भनेका छन् ।