काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिन आचार्य पनि सहकारी ठगी प्रकरणमा संलग्न रहेको दाबी गरेका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहमहामन्त्री आचार्यले गोर्खा मिडियाका लागि कास्कीको पोखरास्थित सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ लिएको पुष्टि भएको दाबी गरेका हुन् ।
‘रास्वपाको आचार्य थरको एक जना सहमहामन्त्रीको नाममा पनि गोर्खा मिडियामा सुप्रिम सहकारीबाट एक करोड ५६ लाख १५ हजार रुपैयाँ प्रवाह भएको देखिन्छ,’– उनले भने ।
पछिल्लो समय रास्वपाका नेताहरु सहकारी ठगी प्रकरणमा मुछिँदै आएका छन् । रास्वपा उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटीपछि अर्का सहमहामन्त्री आचार्यका पनि नाम जोडिएको हो ।