काठमाडौं, २१ चैत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने भएका छन् । राजीनामा नदिने अडानमा रहेका शर्मा अन्ततः राजीनामा दिएर एमाले नेतृत्वको प्रदेश सरकार बनाउन मार्ग प्रशस्त गर्न तयार भएका हुन् । उनले आज नै राजीनामा दिने बताइएको छ ।
मुख्यमन्त्री शर्माले राजीनामा नदिने अडान लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत तनावमा थिए । मुख्यमन्त्री शर्मालाई राजीनामा गराउन प्रचण्डले आफ्नो दूत नै पठाउन पर्यो । प्रचण्डले हिजो कर्णालीका पूर्व मुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाहीलाई सुर्खेत पाठएका थिए । शाहीले मुख्यमन्त्री शर्मासँग लामो छलफल गरेका थिए । शाही र शर्माको लामो छलफलले समेत निश्कर्ष ननिस्किएपछि बेलुका माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको थियो । संसदीय दलको बैठकले मुख्यमन्त्री शर्माले विश्वासको मत लिएरमात्रै राजीनामा दिन्ुपर्ने सुझाव दिएको थियो ।
आज विहान पनि माओवादीले माओवादी कर्णाली प्रदेश संसदीय दलको बैठक बसेको थियो । बैठकलगत्तै एमालेका नेताहरुसँग पनि मुख्यमन्त्री शर्माले संवाद गरेका थिए ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिन वा राजीनामा दिएर प्रदेश सभालाई सम्बोधन गर्न भन्दै मुख्यमन्त्री शर्मालाई अन्तिम दुई विकल्प दिएपछि शर्मा राजीनामा दिन तयार भएका हुन् ।
केन्द्रीय सत्ता गठबन्धनको निर्णयअनुसार अब कर्णालीमा नेकपा (एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वमा सरकार बन्नेछ ।