काठमाडौं,२१ चैत । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिएसँगै प्रदेश प्रमुखले २७ गतेसम्मको समय दिएर दलहरुलाई बहुमत जुटाएर आउन भनेका छन् ।
पाण्डेले बुधबार विहान पदबाट राजीनामा दिएका छन् । भट्टले संविधानको धारा १६८ उपधारा २ अनुसार नै सरकार गठनको लागी दलहरुलाई मौका दिएका हुन् । उनले दिएको समयभित्र कुनैपनि दलले बहुमत पेस गर्न नसके उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतमा पाण्डे नै मुख्यमन्त्रीमा नियुक्त हुनेछन् ।
गण्डकीमा कांग्रेस २७ सांसदसहित ठूलो दल हो। एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र नेकपा (एकीकृत समाजवादी) का १ जना सांसद छन्।