Logo

कांग्रेस सांसदको प्रश्नः प्रधानमन्त्रीलाई सहकारी ठगी प्रकरणमा निर्दोषिताको प्रमाणपत्र दिने अधिकार कसले दियो ?



काठमाडौं, २१ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य अजयकुमार चौरासियाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्को रोस्टममा उभिएर रवि लामिछानेलाई निर्दोषिताको प्रमाणपत्र दिएको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई प्रचण्डले जोगाउन खोजेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

साथै, कसैलाई दोषी र निर्दोष ठहर गर्ने अधिकार प्रधानमन्त्रीलाई नरहेको उनको भनाइ छ । उनले भने, ‘आज जसरी विभिन्न सहकारी संस्थाहरुमा ठगी गरिएको छ, जनताले जम्मा गरेको निक्षेप अपचलन गरिएको छ । ती सहकारी संस्थामा लगानी गरेका जनताले पेट काटेर जम्मा गरेको पैसा ठगी भयो । त्यो ठगीको सम्बन्धमा प्रधानमन्त्रीले संसद्को रोस्टमबाट कोही एक जना मन्त्री निर्दोष हुनुहुन्छ, कुनै प्रमाण छैन भन्नुभयो । उहाँलाई त्यो बोल्ने अधिकार छ ? दोषी को हो वा होईन भनी दोषी ठहर गर्ने निकाय छ । अनुसन्धान गर्ने निकाय छ । प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु–कसले अधिकार दियो रोस्टममा उभिएर निर्दोष रहेको प्रमाण पत्र दिने ?’

गोर्खा मिडियाका सञ्चालकहरु एमडी, चियरमेनहरुले सहकारी ठगी गरेको उनको दाबी छ । उक्त काण्डमा निश्पक्ष छानविन गरेर कारबाही गर्नुपर्ने उनले माग गरे । साथै, उपप्रधान एवं गृहमन्त्री मुछिएको उक्त ठगी प्रकरणमा संसदीय समिति बनाएर छानविन गर्नुपर्ने उनको माग छ ।



प्रतिक्रिया दिनुहोस्