Logo

रञ्जितालाई नाउपा सुदूर संसदीय दलको काउन्टरः अनिवार्य उपस्थित भएर विश्वासको मत दिन ह्वीप जारी



काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खुसीराम डगौरा थारुले अनिवार्य रुपमा प्रदेश सभा बैठकमा उपस्थित हुन र मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत दिन भन्दै ह्वीप जारी गरेका छन् ।

मुख्यमन्त्री शाहले भोलि (बिहीबार) प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेकी थिईन् । अध्यक्ष श्रेष्ठको ह्वीपलाई काउन्टर गर्दै खुसीरामले अर्को ह्वीप जारी गरेका हुन् ।

‘मुख्यमन्त्री कमलबहादुर शाहज्यूले आफूमाथि प्रदेश सभाको विश्वासको मत छ भन्ने प्रस्तावको पक्षमा मतदान गर्नका लागि अनिवार्य उपस्थित हुन, अनिर्वाय मतदान गर्न र तटस्थ नरहन राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा २८ बमोजिम निर्देशन (ह्वीप) जारी गरिन्छ,’– पत्रमा भनिएको छ ।

आन्तरिक किचलोका कारण नाउपा फुटको संघारमा पुगेको छ । नाउपाका संरक्षकसमेत रहेका रेशम चौधरी र अध्यक्ष रञ्जिताबीचको द्वन्द्व छताछुल्ल भएको छ । रेशम केन्द्र सरकारमा सहभागी हुन नहुने र सुदूरमा मुख्यमन्त्री शाहको सरकार जोगाइराख्ने पक्षमा छन् । रञ्जिता भने नयाँ गठबन्धनलाई साथ दिएर संघ र प्रदेश सबैतिरको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छिन् ।



प्रतिक्रिया दिनुहोस्