Logo

शीर्ष नेतृत्वले नै संविधानको धज्जी उडाइरहेका छन्ः राजकिशोर यादव (भिडिओसहित)



काठमाडौं, २२ चैत । जनता समाजवादी पार्टी (जसपा) का प्रभावशाली नेता एवं प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवले नेपालको राजनीति विचार, सिद्धान्त र मूल्य, मान्यताबाट विमुख भएको टिप्पणी गरेका छन् । हिजो (बुधबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अहिले राजनीतिको केन्द्रविन्दुमा जनताको हकहित, सुरक्षा र जीनव परिवर्तन कसरी गर्ने भन्दा पनि आफ्नो र आफ्नो परिवारको बारेमा केन्द्रीत भएको बताएका हुन् । साथै, शीर्ष नेताहरुले नै संविधानको धज्जी उडाउने गरेको उनको आरोप छ ।

‘शीर्ष नेतृत्वबाट नै संविधानको मर्मको धज्जी उठाउने कार्य भइरहेको छ । राष्ट्रिय राजनीति विचार, सिद्धान्त र मूल्य, मान्यताबाट विमुख भएको छ । मूल केन्द्रमा स्वार्थ हाबी भएको छ । यसले गर्दा समग्र राजनीति नै धुमिल भएको छ । राष्ट्रिय राजनीतिको स्तर स्खलन भएको छ,’– उनले भने ।

ुसाथै, नेताहरुले आफ्नो अनुकूलतामा संविधानको धज्जी उडाएको र मूल्य, मान्यताको कुनै ख्याल नगरेको उनको दाबी छ । अहिले देशको राजनीति अविश्वास र अनिश्चितताको दौडमा प्रवेश गरेको उनले बताए ।

संघीयताको नाममा केन्द्रबाट जबरजस्त आफ्नो निर्णय लाद्ने काम भइरहेको उनले बताए । केन्द्रीय नेताहरुले आफ्नो स्वार्थ परिपूर्ति गर्नका लागि अरुलाई बली चढाउने काम गरेको उनको आरोप छ । नेता यादवले अहिलेको समग्र राजनीति गलत बाटोमा हिँडिरहेको बताए । उनले नेताहरुले राजनीतिलाई अविश्वासको भुमरीमा पुर्याएको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्