काठमाडौं, २२ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारीबाट चलेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रास्वपाका सभापतिदेखि सहमहामन्त्रीसम्म सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै यस्तो टिप्पणी गरेका हुन् ।
रास्वपाका सभापतिसमेत रहेको उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको र उनको विरुद्धमा यथेष्ट प्रमाण रहेको दाबी गर्दै नेता खतिवडाले कांग्रेस संसदीय छानविन समितिको मागबाट पछि नहट्ने बताए । उनले गृहमन्त्री लामिछाने, उनको श्रीमती, पार्टी उपसभापति र सहमहामन्त्रीसमेत सहकारी ठगी प्रकरणमा जोडिएको दाबी गरे । साथै, रास्वपा सहकारीबाट चलेको पार्टी रहेको पुष्टि भएको उनको भनाइ छ ।
‘कांग्रेस यू टर्न पनि भएको छैन । अगाडि, पछाडि पनि गएको छैन । जुन बाटोमा थियो, त्यही हो । हामीले पहिला भन्यौं गृहमन्त्रीका बारेमा केही कुराहरु आउन थाले । पार्टी नै मुछिन थाल्यो ।’ उनले भने, ‘पहिला त गृहमन्त्रीको मात्रै कुरा आएको थियो, उहाँ भएको ग्यालेक्सी टेलिभिजनको मात्रै कुरा आयो । त्यसपछि अहिले त पार्टीका सबै, उहाँको श्रीमत, उपसभापति, सहमहामन्त्री, के–के ? पार्टी नै सहकारीबाट पो चलेको रहेछ, अहिले पो थाहा हुन थाल्यो ।’
सहकारीबाट पछिल्लो समय ५०औं हजार मानिसहरु पीडित भएको उनको दाबी छ । उनले सहकारी ठगी प्रकरणमा आरोप लागेको व्यक्ति नै गृहमन्त्री बन्दा निश्पक्ष छानविन प्रभावित हुने बताए । साथै, कांग्रेसको अन्तिम माग भनेको संसदीय छानविन समिति नै रहेको उनले बताए ।
‘सहकारीको अर्बौं रुपैयाँ घोटला भएको छ । ५०औं लाख मान्छे पीडित छन् । त्यसमा एउटा पार्टीनै संलग्न भएजसरी प्रस्तुत हुनथाल्यो । हाम्रो भनाइ के हो भने यस्तो बेलामा देशको गृहजस्तो संवेदनशील मन्त्रालय संहालेर बस्नु भएको मन्त्रीज्यू हुनुहुन्छ ।’ उनले भने, ‘छानविनका लागि हामी तयार छौं भनेर उहाँले भन्नुपर्नेमा हामीले संसदीय समिति निर्माण गरौं भनेको हो ।’