काठमाडौं,२२ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न इलाम २ र बझाङ प्रदेश सभा (ख) को उपनिर्वाचनका उम्मेदवारका आकांक्षीसँग छलफल गरिरहेका छन् । निजि निवास बुढानीलकण्ठमा बिहान साढे १० बजेदेखि देउवाले सामूहिक छलफल थालेका हुन् ।
यसअघि तीन दिनदेखि उम्मेदवार छान्न बैठक बसिरहेको कांग्रेसले उम्मेदवार छानन् सकेको छैन् । इलाम- २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।
यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । उम्मेदवार टुंग्याउन देउवा र कोइराला एक मत नहुँदा चार दिनदेखि कांग्रेस आन्तरिक छलफलमै केन्द्रित छ ।
इलाम र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनको उम्मेदवार टुंग्याउनुअघि कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई इलाम पठाएको थियो । ग्राउण्ड रिपोर्ट तयार पाएर राजधानी फर्किएका शर्माले संस्थापन इतर समूहका आचार्यलाई टिकट दिएमा ३० वर्षपछि कांग्रेसले जित निकाल्न सक्ने दाबी गरेका थिए ।
आचार्यलाई संस्थापन समूहले उम्मेदवार बनाउन नहुने अडान राखेपछि देउवाले खड्कालाई नै उम्मेदवार बनाउने तयारी गरेका छन् । उता बझाङमा जोशी र सिंअबीच भिडन्त भईरहेको छ । सिंहलाई उम्मेदवार बनाउन संस्थाफले चाहेपनि संस्थापन इतर समूहले जोशीको नाममा अड्डी लिएपछि कांग्रेसलाई उम्मेदवार छान्न सकस परिरहेको छ ।
इलाम २ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको भदौ २६ गते भएको निधनपछि सो क्षेत्रमा उपनिर्वाचन हुन् लागेको हो । उपनिर्वाचनका लागि एमालेले सुवासपुत्र सुहाङलाई मैदानमा उतारेको छ । उनलाई नेकपा माओवादी केन्द्रले पनि समर्थन गरेको छ । यता रास्वपाले मिलन लिम्बूलाई टिकट दिएको छ ।