काठमाडौं, २२ चैत । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले प्रदेश प्रमुखले आह्वान गरेअनुसार सरकार गठनका लागि बहुमत जुटाउने प्रयास गर्ने बताएका छन् । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम सात दिनको समय दिएर दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दलहरुलाई आह्वान गरेको छन् ।
निवर्तमान मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले हिजो नै सरकार गठनका लागि आह्वान गरेका थिए । निवर्तमान मुख्यमन्त्री पाण्डेले आफू संविधानको धारा १६८ (२) बमोजिम नै सरकार बनाउने कोशिस गर्ने र उक्त प्रयास असफल भए उपधारा ३ बाट मुख्यमन्त्री बन्ने दाबी गरेका छन् । गण्डकीको मुख्यमन्त्री घुमिफिरी आफ्रू नै भएको उनको दाबी छ ।
‘मैले राजीनामा गरिसकेपछि हिजो प्रदेश प्रमुखले चैतको २७ गतेसम्म बहुमत पुर्याउन सक्ने दुई वा दुईभन्दा बढी दलहरु मिलेर को आउनु हुन्छ ? आउनुस् भन्नुभएको छ । अरुले पनि त्यसमा कोशिस गर्लान्, मैले पनि त्यसमा कोशिस गर्छु । गण्डकी प्रदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन निर्णायक छ ।’ नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीले हामी आन्दोलनमा छौं, हामी कसैलाई पनि समर्थन गर्दैनौं, सत्ता बनाउने, ढलाउने खेलामा लाग्दैनौं भनिसकेपछि संसद्मा गएर विश्वासको मत लिनुपर्ने मैले आवश्यता ठानिन् । उहाँहरु (राप्रपा) ले हिजो एउटा निर्णय गर्नुभएको छ । अहिले नयाँ गठबन्धनलाई कु्नै पनि प्रदेशमा साथ नदिने भनिसकेपछि घुमीफिरी सुरेन्द्र पाण्डेकै हातमा आउने सम्भावना बढिरहेको छ ।’
आफू संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बनेको अवस्थामा राजनीतिक दलहरुले बडो गम्भीरतापूर्वक सोच्नुपर्ने दिन आउने उनको भनाइ छ । उनले राजनीतिक दलहरुले गम्भीरतापूर्वक नसोचेको खण्डमा कोशी प्रदेशको सकस गण्डकीमा पनि दोहोरिने दाबी गरे ।