काठमाडौं, २३ चैत । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीले आफूमाथि ‘बदमासी गरिस्’ भन्ने प्रश्न कसैले पनि उठाउन नसक्ने दाबी गरेका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सबै नेताहरुलाई भ्रष्टाचारीको दर्जा दिन नहुने बताएका हुन् । नेता भण्डारीले आफू भ्रष्टाचार विरोधी अभियन्ता रहेको समेत दाबी गरे ।
‘मुलुक आर्थिक रूपले कमजोर बन्दै जाँदा, सामाजिक रूपले द्वन्द्व फैलिँदै जाँदा त किन बोल्दैनस् ? किन अगाडि बढ्दैनस् ? भन्ने प्रश्न मलाई खडा हुन सक्छ । तर, तैले मुलुकको निम्ति यति बदमासी गरिस् भन्ने प्रश्न उठाउन सक्दैनन् । हामी भ्रष्टाचार विरोधी अभियान सञ्चालन गर्ने मान्छे पनि हौं । हामी नेपाली जनताको पक्षमा बोल्ने मान्छे पनि हौं । प्राकृतिक स्रोत र साधनको पहँच तल्लो वर्गलाई पुर्याउन पर्छ भन्ने मान्छे पनि हौं,’– उनले भने ।
मुलुक बनाउनका निमित्त लागेका पुराना नेताहरुको अहिले पनि बस्ने बाससमेत नरहेको उनको दाबी छ । साथै, त्यस्ता नेताहरु मुलुकबाट सम्मानित हुन नसकेको उनले बताए । सबैलाई भ्रष्टाचारी हो भन्ने हो भने मुलुक डिप्रेसनमा जान सक्ने उनको भनाइ छ ।
नेपालको संविधान बनाउने शक्ति पृथकीकरणका सिद्धान्त बमोजिम बनाएको स्मरण गराउँदै उनले राज्यका निकायहरुले निश्पक्षरुपमा काम गरेको खण्डमा जनतामा देखिएको वितृष्णा कम हुँदै जाने उनले बताए ।