काठमाडौं, २३ चैत । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले इलाम–२ मा आफूहरुले उठाएको उम्मेदवार विजियको विन्दुमा अगाडि बढिसकेको बताएका छन् । आज (शुक्रबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एकीकृत समाजवादीका उम्मेदवार जीतबहादुर राईको पक्षमा लहर सिर्जना भइसकेको बताएका हुन् ।
साथै, वर्तमान सत्ता गठबन्धन चुनावी तालमेलका लागि नबनेकाले आफूहरुले उम्मेदवार उठाएको उनले बताए । नेता खनालले एकीकृत समाजवादी सबै चुनावहरु एक्लाएक्लै फेस गर्न तयार रहेको बताए ।
‘हामी सबै चुनावमा अलग–अलग अगाडि बढ्नका लागि तयार छौं । हाम्रो पार्टी आफ्नो ढंगले अगाडि बढिरहेको छ । हाम्रो आफ्नै हुनेछ । हाम्रो उम्मेदवारले व्यापक चुनावी अभियान इलाम–२ का प्रत्येक पालिकाहरुमा सुरु गरिसक्नु भएको छ ।’ उनले भने, ‘हाम्रो पार्टीको पक्षमा, हाम्रो उम्मेदवारको पक्षमा लहर सिर्जना हुन थालेको छ । अब पछाडि हट्ने होईन, विजयको विन्दुमा अगाडि बढ्ने हो ।’
उपनिर्वाचनको सन्दर्भमा एकीकृत समाजवादीलाई कसैले पनि सहमती गरौं भनेर प्रस्ताव नल्याएको उनले बताए । अहिलेको अवस्थामा अलग–अलग भिड्नु नै उपयुक्त हुने बताए । आफूहरुले उठाएको उम्मेदवार होनाहार र उर्जावान युवा भएको उनले बताए ।