Logo

विकास, परिवर्तन र सुशासनको मामिलामा एमालेसँग कसैले प्रतिस्पर्धा गर्न सक्दैनः राजन भट्टराई (भिडियोसहित)



काठमाडौं, २४ चैत । नेकपा (एमाले) का विदेश विभाग प्रमुख डा. राजन भट्टराईले विकास, परिवर्तन र सुशासनको मामिलामा एमालेसँग कसैले पनि प्रतिस्पर्धा गर्न नसक्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले विगतमा एमालेले नेतृत्व गरेको सरकारको इतिहास हेर्दा पनि विकास, सुशासन र परिर्वतनका लागि एमालेसँग अन्य दलहरुले प्रतिस्पर्धा गर्न नसक्ने पुष्टि हुने बताएका हुन् ।

‘यो सहकार्यमा एमाले छ । एमाले भनेपछि विकास, परिवर्तन, सुशासनका लागि अरु कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैनन् । विगतमा एमालेले नेतृत्व गरेको सरकारलाई सम्झिनु भयो भनेपनि त्यो कुरा पाउनुहुन्छ,’– उनले भने ।
साथै, कांग्रेस–माओवादी संलग्न यस अघिको सरकार एजेण्डा र संसदीय अभ्यास गलत भएकाले आफूहरुले उक्त सरकार ढालेर नयाँ गठबन्धन बनाएको उनले बताए । नेता भट्टराईले वर्तमान सरकारको काम कारबाहीले विस्तारै जनतामा रहेको निराशा हटेर जाने बताए । उनले भने,‘हामीले हिजो जुन किसिमबाट परिस्थिति अगाडि बढिरहेको थियो, त्यो गलत थियो भनिरहेका थियौं । हिजोको गठबन्धन जसरी बनाइयो, जुन पृष्ठभूमिमा त्यसलाई अगाडि बढाइयो, त्यो एजेण्डा, संसदीय अभ्यास र पद्धतिको मामलामा गलत थियो । सर्वोच्च अदालतलाई प्रयोग गरेर गरिएको काम थियो ।’

वर्तमान सरकारले सुधारात्मक काम गरिरहेको र सबैले केही समय धैर्यताको साथ बस्नुपर्ने उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्