काठमाडौं, २४ चैत । खानेपानीमन्त्री राजेन्द्र राईले आफूहरुले परिणाम आउने गरी काम गरिरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुले काम गरिरहेको बताएका हुन् । उनले एमालेका मन्त्रीहरुले अरुकोजस्तो काम नगर्ने कार्य नगर्ने उनको भनाइ छ । उनले आफूहरुले मेलम्ची खानेपानीदेखि लिएर सुुर्खेत र खोटाङमा रहेको खानेपानी समस्या समाधानका लागि काम गरिरहेको बताए ।
‘हामी मञ्चन गर्न जान्दैनौं । हामी काम गर्ने हो । समाचार, पत्रकार सम्मेलन यस्तो काम हामीले गरेका छैनौं । सबैभन्दा बढी काम चाहीँ हामीले गरेका छौं । मेलम्ची खानेपानीको ठूलो समस्या थियो । त्यो समाधान हामीले नै गर्यौं । अहिले सुर्खेतको सबै प्रक्रिया सुरु भइसक्यो । खोटाङमा त्यस्तै समस्या थियो । त्यो समाधान हामीले गरेका छौं ।’ उनले भने, ‘थुप्रै–थुप्रै काम गरेका छौं । हामी परिणामको पक्षमा छौं । पत्रकार सम्मेलन गरेर मैले यता गरेँ, उता गरेँ भन्ने पक्षमा हामी छैनौं । हामी एकदम जनताको समस्यालाई हल गरेर परिणाम आउने तरिकाले काम गरेका छौं ।’
साथै, उनले अब देशभर नै कम्मरमा र थाप्लोमा नाम्लो लगाएर पानी बोक्नुपर्ने समस्याको अन्त्य गरेरै छाड्ने उनले उद्घोष गरे । उनले आफू त्यस प्रकारको नीति बनाएर अगाडि बढ्ने प्रयासमा रहेको उनले बताए । ‘अब मेरो पालामा नेपाली महिलाहरुले पानी कम्मरमा बोक्ने र थाप्लोमा नाम्लो लगाएर बोक्ने चलन छ, त्यसको अन्त्य गर्छु । देशभरका आमाबुबा दिदी बहिनीहरुलाइ सरल ढंगले खानेपानी कसरी खुवाउन सकिन्छ ? ठीक ढंगको नीति बनाएर अगाडि बढ्छु,’– उनले भने ।