काठमाडौं, २४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रतिनिधि सभा सदस्य शिव नेपालीले आफ्नो पार्टीका नेताहरुलाई नैतिकता र इमानदारिता सिकाउन आवश्यक नरहेको बताएका छन् । आज (शनिबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफूहरुको आँखा अगाडि जनताको चित्र र अवस्था रहेको भन्दै उनले रास्वपाका नेताहरुमा उच्च नैतिकता र चरित्र रहेको दाबी गरेका हुन् ।
‘नैतिकता र इमानदारिता राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुलाई सिकाउन पर्छजस्तो मलाई लाग्दैन । हामीले अरुलाई नियाल्ने भन्दा पनि आफूले आफैंलाई सधैं नियाल्ने गर्छौं । हाम्रो आँखा अगाडि जनताको चित्र र अवस्था आउँछ । त्यो कारणले गर्दा नैतिकता र चरित्र हामीमा छ,’– उनले भने ।
साथै, नेपाली कांग्रेसले आरोप–प्रत्यारोपकै भरमा संसद् अवरोध गर्न खोजेको उनले बताए । नेता नेपालीले पार्टी सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी सम्बन्धी विवादमा छानविन समिति आवश्यक नरहेको र नबन्ने पनि दाबी गरे । उनले प्रधानमनत्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले संसद्को रोस्टममा उभिएर गृहमन्त्री लामिछानेमाथि लगाइएको आरोप जायज नरहेको प्रष्ट पारिसकेको उनले स्मरण गराए । नेता नेपालीले प्रहरी प्रमुखले समेत गृहमन्त्रीमाथि लागेको आरोपमा कुनै पनि प्रमाण फेला नपरेको कुरा प्रष्ट पारिसकेको बताए । यस्तो अवस्थामा कांग्रेसले राजनीतिक पूर्वाग्रह राखेर संसद्मा किचलो सुरु गरेको उनको भनाइ छ ।
‘आरोप–प्रत्यारोप लगाउँदैमा छानविन समिति बनाउने हो भने नेपालमा यस्ता आरोप–प्रत्यारोप पत्रपत्रिकामा देखिएकै हो । समाचारका ठूला–ठूला हेडलाइन हामीले नपढेको होईन । प्रधानमन्त्री आफैंले संसद्को रोस्टममा उभिएर उहाँलाई लगाइएको आरोप जायज छैन भनेर उत्तर दिइसक्नु भयो । राज्य व्यवस्था समितिमा पनि गृहमन्त्री आफैं उपस्थित भएर सभापतिलगायत सबै सांसदहरुको अगाडि बोलिसकेको अवस्था छ । नेपालको गृहमन्त्रालय अन्तर्गत चल्ने प्रशासनको मुख्य हाकिम, उहाँले पनि प्रमाणहरु नभेटिएको भनेर बारम्बार भनिरहेको अवस्थामा यही विषयलाई लिएर संसद् चल्न दिन्न भन्नु प्रजातान्त्रिक धारमा रहेको दलको नैतिकता होईन् भन्ने लाग्छ,’– उनले भने ।