Logo

‘दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक होडिङ बोर्ड’



गोरखा, २५ चैत । गोरखामा सवारी दुर्घटना न्यूनीकरणका लागि दुर्घटनाको बढी जोखिम रहेका सडक छेउछाउमा सचेनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सुरु भएको छ ।

ट्राफिक प्रहरी कार्यालय गोरखाले जिल्लाभित्रका दुर्घटनाको अत्यधिक जोखिम रहेका क्षेत्रको पहिचान गरी सचेतनामूलक बोर्ड राख्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख शिवप्रसाद पाठकले जानकारी दिए ।

“अभियान अन्तर्गत गोरखा सदरमुकाम क्षेत्रमा दुर्घटनाको जोखिमयुक्त स्थानमा सचेतनामूलक होर्डिङ बोर्ड राखिएको छ”, उनले भने, “आवश्यकताका आधार दुर्घटनाको बढी जोखिम रहेका अन्य स्थानहरुमा पनि सेचतनामूलक बोर्डहरु राखिनेछ ।”

सवारीचालक तथा यात्रु र अन्य सर्वसाधारण नागरिकमा पनि सवारी दुर्घटना न्यूनीकरण उपायबारे जानकारी गराउन सके दुर्घटना न्यूनीकरण गर्न सकिने उनको भनाइ छ । ट्राफिक प्रहरीले दुर्घटना बढी हुनसक्ने जोखिमयुक्त सडकको किनारामा सचेतनामूलक बोर्ड राखेको प्रमुख पाठकले बताए ।

ट्राफिक सचेतनामूलक तस्बिरहरु, जथाभावी र लापरबाही ढङ्गबाट सवारी चलाउदा हुनसक्ने दुर्घटनाको जोखिम, मादकपदार्थ सेवन गरी सवारी नचलाउन अनुरोध सहितको सचेतनामूलक सन्देशहरु होर्डिङ बोर्डमा उनको भनाइ छ । त्यस्तै तीव्रगतिमा सवारी नचलाउन, घुम्तीमा जथाभावी ओभरटेक नगर्न र बजारक्षेत्रमा सवारी सुस्त गतिमा सवारी चलाउन आग्रह सहितको सन्देशहरु सचेतनामूलक बोर्डमार्फत प्रवाह गरिएको प्रमुख पाठकले जानकारी दिए ।

ट्राफिक प्रहरीले बजार क्षेत्रमा चालकहरुलाई गति सीमित गर्न सचेतना प्रदान गर्ने गरी बोर्ड राख्ने तयारी गरिरहेको छ । “बढी सवारीको चाप हुने भएकाले बजार क्षेत्रमा तीव्र गतिमा सवारी चलाउन बढी दुर्घटना हुने गरेको पाइन्छ”, प्रमुख पाठकले भने, “अब त्यसका लागि पनि सचेतना फैलाउनु जरुरी भएकाले बजार क्षेत्रमा गति सीमित लेखेर बोर्डहरु ठाउँठाउँमा राख्ने तयारी पनि गरिरहेका छौँ ।”

ट्राफिक प्रहरीले सुरु गरेको यसप्रकारको सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणका लागि मद्दत पुग्ने विश्वास गरिएको प्रमुख पाठकले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्