Logo

सहकारी ठगीको छानविन राज्यका निकायलाई छाडिदिनुपर्छ, संसदीय समिति बन्दैनः मन्त्री गिरी



काठमाडौं, २६ चैत । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी ठगी सम्बन्धी छानविन राज्यका निकायलाई छाडिदिनु पर्ने बताएका छन् । आज (सोमबार) प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संसदीय छानविन समितिले सहकारीको हिसाब–किताब नगर्ने बताए । उनले सहकारी ठगीका दोषीहरुलाई कारबाही गरी बचतकर्ताका पैसा जस्ताको तस्तै फिर्ता दिनुपर्ने बताए ।

‘संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौं । सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ,’– उनले भने

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बन्नुपर्ने भन्दै विरोध गर्दै आइरहेको छ । सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि मुछिएको र अनुसन्धान गर्ने निकायको प्रमुख नै गृहमन्त्री लामिछाने हुँदा संसदीय समिति बनाएर छानविन हुनुपर्ने कांग्रेसको भनाइ छ ।

कानुनमन्त्री गिरीले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति नबन्ने प्रष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्