काठमाडौं, २६ चैत । नेकपा (माओावदी केन्द्र) कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश सभा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताएअनुसार माओवादीका मन्त्रीहरुले आज नै राजीनामा दिएर सरकारबाट बाहिरिँदैछन् ।
‘आज हामीले विश्वासको मत फिर्ता लिने निर्णय गरेका छौं । सरकार सञ्चालन र पावर शेयरिङका विषयमा हामी गठबन्धनका दलहरु बसेर छलफल गरेर निश्कर्षमा पुग्छौं,’–आङ्बोले भने ।
यो सँगै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की अल्पमतमा परेका छन् । कोशीमा संविधानको धारा १६८ (५) बमोजिम केदार कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । उपधारा ५ सरकार गठनको अन्तिम धाराको रुपमा समेत चर्चा भइरहेको छ ।
आफू कुनै पनि दलको समर्थनमा मुख्यमन्त्री नबनेको कार्कीको दाबी छ । मुख्यमन्त्री कार्कीले आफ्नो विरुद्ध दुई वर्ष अविश्वासको प्रस्ताव ल्याउनै नमिल्ने बताएका छन् ।