Logo

सर्लाहीको एक दलित बस्तीमा आगलागी हुँदा ६ घर जलेर नष्ट



  • बखतियार अलि

सर्लाही, २६ चैत्र । सर्लाहीको एक दलित बस्तीमा आगलागी हुँदा ६ वटा घर जलेर नष्ट भएको छ । जिल्लाको बसबरीया गाउँपालिका– ३ भवानीपुरस्थित मुसहरी टोलमा आज (सोमबार) बिहान ११ बजे स्थानीय रामविश्वास माझीको घरबाट आगो सल्किएको थियो । आगोले दलित समुदायको बसोबास रहेको उक्त बस्तीका ६ वटा घर जलेर पुर्णरुपमा नष्ट भएको छ भने ५ वटा घरमा आंशिक क्षति पुगेको छ ।

माझी सपरिवार घर बाहिर काममा निस्किएको बेला घरमा अचानक आगो लाग्दा ग्यास सिलिण्डर पड्किएरको थियो । पड्किएको सिलिण्डरबाट निस्किएको आगो छिमेकीको घर हुँदै बस्तीमा पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

आगलागीबाट रामविश्वास माझी, विन्देश्वर माझी, दिनेश माझी, नरेश राय यादव, जोखु मुखिया र महेशी रायको घर पूर्णरुपमा जलेर नष्ट भएको छ । सदरमुकाम मलंगवा र हरिवनबाट गएको दमकलको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका शुरक्षाकर्मी र स्थानीयहरु मिलेर दिउँसो १ बजेतिर आगोलागी नियन्त्रणमा लिइएको थियो ।

आगलागी भएको बस्तीको सडक साँघुरो भएका कारण एकैसाथ दुई वटा वारूणयन्त्र प्रयोग गर्न समस्या भएको थियो । आगलागीबाट २६ लाख ४४ हजार बराबरको धनमाल क्षति भएको प्रहरी प्रवक्ता डिएसपी श्रेष्ठले बताए ।

आगलागीबाट धनमाल गुमाएका पिडित परिवारलाई बसबरिया गाउँपालिकाले तत्काल राहतको लागि राशन, त्रिपाल, भाँडाबर्तनलगायतका राहत सामाग्री वितरण गर्ने कार्य सुरु गरेको छ ।



प्रतिक्रिया दिनुहोस्