२८ चैत, काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि आज निर्वाचन हुँदै छ । त्यसका लागि राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि सत्ता गठबन्धन दलका तर्फबाट नेकपा एमालेकी विमला घिमिरे र प्रतिपक्षी दलका तर्फबाट नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनी उम्मेदवार छन् । घिमिरेलाई सत्ता गठबन्धनमा रहेका दलको समर्थन रहेको छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ । आजको राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायण दाहालले दुवै उम्मेदवारका प्रस्तावकहरुलाई पालैपालो निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न दिनेछन् । एमालेकी घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव भगवती न्यौपानेले र कांग्रेसकी पुडासैनीलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव दुर्गा गुरुङले प्रस्तुत गर्नेछन् ।
नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए । त्यसपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।