काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले नेपाली राजनीतिमा रवि लामिछाने जति गनाएको पात्र कोही पनि नरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लामिछानेका दुई वटा नागरिकता, दुई वटा राहदानीलगायतका काण्डमा विवादित बनेको उनले बताएका हुन् ।
‘रवि लामिछाने प्रोपोगाण्डा गरेर राजनीतिमा आउनु भएको हो । उहाँ जति गनाएको मान्छे नेपाली राजनीतिमा कोही पनि छैन । जसको दुई वटा नागरिकता, दुई वटा राहदानी छ । जसले आफ्नै सहकर्मी शालिकराम पुडासैनीलाई मर्न बाध्य बनायो । जसको निर्वाचनताका चालकलाई तीन तलामाथिबाट खसालेर मार्ने षड्यन्त्र गरियो,’– उनले भने ।
गृहमन्त्री लामिछानेले ‘कांग्रेस दुधले नुहाएको पार्टी होईन’ भनी दिएको अभिव्यक्तिको खण्डण गर्दै उनले लामिछानेलाई बागमतीको फोहोर पानीले नुहाएको पात्रको रुपमा चित्रण गरे । ‘बागमतीको पानीले नुहाएको पार्टी हो रवि लामिछाने । हामीलाई दुधले नुहाएको होईन भनेर भन्ने ? जो यो देशमा सबैभन्दा बढी भ्रष्ट, आम नागरिक, जुत्ता सिलाउनेको, मकै पोल्ने, गाडीका चालक, सहचालकलगायतको अर्बौं पैसा अपचलन गरेर जुन मिडिया सहकारीबाट लिन नै पाइँदैन,’– उनले भने ।
कांग्रेसका जोसुकै व्यक्तिहरु आरोपित भए उनीहरुमाथि छानविन भएर कारबाही हुनुपर्ने उनले बताए । नेता स्नेहीले कांग्रेसका नेता जोसुकैमाथि आशंका रहेको भएपनि छानविन गरेर कारबाही गर्न चुनौति दिए । ‘आजपनि भोलिपनि, हाम्रा कोही पार्टीका साथीहरु आरोपित हुनुहुन्छ, कोही संलग्न हुनुहुन्छ । नियतवस हुनुहुन्छ वा भवितव्य हुनुहुन्छ । छानविन गरेर कारबाही गरे भइहाल्यो नि,’– नेता स्नेहीले भने ।
साथै, कांग्रेससँग जोडिएको कारण विनोद चौधरीलाई उनको बाबुको पालामा भएको घटनामा बदनाम गर्न खोजिएको उनले बताए । कांग्रेससँग जोडिएका मानिसहरुलाई पुर्वाग्रह राखेर रवि लामिछानेले दुःख दिइरहेको उनको आरोप छ । रास्वपाका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री लामिछानेलाई झुसे बारुलोको संज्ञा दिँदै उनले राणा र राजासँग लडेको कांग्रेस नडराउने बताए ।
लामिछानेमाथि लागेको सहकारी ठगी आरोप छानविनका लागि संसदीय समिति गठन नभई आगामी दिनमा संसद् पनि नचल्ने र सडकमा पनि आवाज उठिरहने उनको भनाइ छ । सहकारी ठगी प्रकरणलाई लिएर नागरिक समाज, बुद्धिजीवी, नागरिक समाजलगायतका निकायहरु गृहमन्त्री लामिछानेको विरुद्धमा तयार भइरहेको उनको दाबी छ । गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा सरकारको आड लिएर जोगिन खोजेको उनको आरोप छ ।